२०८१ पौष २४, बुधवार , ०२:५७:२४ बजे

Sajhamanch
'

इस्ट होराइजनले शुरु गर्यो क्याम्ब्रिज कोर्स पढाउन

सोमवार, वैशाख ३१, २०८१

मेचीनगर । कोशी प्रदेशको अग्रणी शैक्षिक प्रतिष्ठानमध्येको एक धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविले बेलायत (युके) को क्याम्ब्रिज विश्वविद्यालयको कोर्स पढाउन थालेको छ ।

आइतवार आयोजित कार्यक्रममा इस्ट होराइजन मावि र क्याम्ब्रिज विश्वविद्यालयका प्रतिनिधिबीच अध्ययन सम्झौता गरिएको छ ।

सम्झौतापत्रमा विद्यालयका प्रिन्सिपल सञ्जीव राई, क्याम्ब्रिजका प्रतिनिधि डा रोशन राठी र प्रविन ठाकुरले हस्ताक्षर गरेका छन् ।

प्रिन्सिपल राईका अनुसार वैदेशिक अध्ययन र विश्वव्यापी अंग्रेजी शिक्षालाई अझ सबल बनाउने लक्ष्यका साथ क्याम्ब्रिज कोर्सको पठनपाठन शुरु गरिएको हो ।

सम्झौतासँगै इस्ट होराइजन क्याम्ब्रिज कोर्स पढाउने अवसर पाउने मेचीनगरकै पहिलो विद्यालय बनेको छ । र, उक्त कोर्स कक्षा ५, ६ र ७ मा लागू भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेती, मेचीनगरका शिक्षा शाखा अधिकृत पवित्रा ढकाल, क्याम्ब्रिजका प्रतिनिधि राठी, ठाकुर र तक्षशिला फाउन्डेसनका डा भिक्टोरले सो कोर्सबारे धारणा राखेका थिए ।

क्याम्ब्रिज कोर्सका विषयमा अडियो र भिडियोमार्फत जानकारी गराइएको कार्यक्रममा प्रतिनिधिहरुले क्याम्ब्रिज कोर्स उपयोगी सावित हुने बताए ।

१३ वर्षमुनी उमेर समूहतर्फ राष्ट्रिय खेलाडीमा छनोट भएका सो विद्यालयका ३ जना विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा विद्यार्थी र शिक्षिकाहरुले नेपाली संस्कार–संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन शिक्षिका संगीता थापा र शिक्षक विकास ग्वालले गरेका थिए ।

सम्बन्धित खबर