२०८१ फागुन १२, सोमवार , ०८:०३:२९ बजे

Sajhamanch
'

नारायणी नदीमा आधुनिक पुल बन्ने, आज प्रधानमन्त्रीले शिलान्यास गर्दै

सोमवार, वैशाख ३१, २०८१

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवन नारायणगढको नारायणी नदीमा आधुनिक नयाँ पुल बन्ने भएको छ । पुलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने कार्यक्रम छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल शिलान्यास हुन लागेको हो ।

सडक विभागको पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवम् पुलको योजना प्रमुख कृष्ण अधिकारीकाअनुसार पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज बनाउने तयारी छ । पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने पुलको मुनिबाट ठूला डुङ्गा आवतजावत गर्न मिल्ने गरी बनाइने उहाँले बताउनुभयो ।

पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा साढे सात मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार डिजाइनको काम करिब सकिएको छ । अहिले भएको नारायणीको पुल वि।सं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको अहिलेको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडेर उत्तरतर्फ नयाँ पुल बनाउन लागिएको हो ।