
बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले वैचारिक आस्थामाथि बन्देज गरेर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।
नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवशको अवसरमा झापाको चारपानेमा आयोजित शिक्षक अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘विद्यालय समय बाहिर शिक्षकलाई आस्था र विचारमा आबद्ध हुन र गतिविधि गर्न रोक लगाइनु हुँदैन ।’, कार्यक्रमका प्रमुख अतिथि रहेका नेता थापाले भने । नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली शिक्षकले पुर्याएको योगदानलाई सबैले स्मरण गर्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा शिक्षा विकास समन्वय इकाई प्रमुख राजकुमार विक, नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष नेत्र खरेल, कृष्णमाया रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रकाशचन्द्र भण्डारीलाई अभिनन्दन गरिएको उक्त कार्यक्रममा विभिन्न विधामा ३० जना बढीलाई सम्मान एवं पुरस्कृत गरिएको जनाइएको छ ।
नेपाल शिक्षक संघका जिल्ला सभापति तोयानाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा कृष्णमाया दाहालले शाब्दिक स्वागत र सञ्चालन देवेन्द्रचन्द्र सिंह राजवंशीले गरेका थिए ।