काठमाडौं । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ का ३८ वर्षीय सुवास सुवेदी छन् ।
सुवेदीले पोखरा लेकसाइडमा रहेको एके टुर्स एन्ड ट्राभल्समा फोन गरेर ‘म मुख्यमन्त्रीको पिए हुँ । तुरुन्तै पोखरा–काठमाडौं र काठमाडौं–नेपालगञ्जको टिकट बुक गरिदिनुस्। पैसा क्यूआर कोडमार्फत् पठाइदिन्छु’ भन्दै ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।
सुवेदीले पैसा क्यूआर कोडमार्फत भुक्तानी गर्छु भने पनि पछि पैसा नपठाई ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
काठमाडौंबाट पक्राउ परेका सुवेदीलाई २ वटा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।