![](https://sajhamanch.com/wp-content/uploads/2024/05/Football-tournament-scaled.jpg)
इलाम । माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिका दोश्रो माईजोगमाई अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
पहिलो क्वाटरफाइनल खेलमा रोङ गाउँपालिकालाई सडनडेथमा हराउँदै माईजोगमाईले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमले २–२ गोल गरेका थिए ।
बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले माईजोगमाई बिजयी बन्यो । गोलरक्षक सुजन फागोले रोङको २ वटा प्रहार बचाएका थिए ।
खेलको सुरुवाती अग्रता रोङले बनाएको थियो । खेलको ३५औ मिनेटमा सन्दिप राईले गोल गरे । ३९औ मिनेटमा जोएल राईले खेल बराबरी गरे ।
दोश्रो हाफमा थप गरिएको २ मिनेटमा दुवै टिमले १–१ गोल गरे । रोङका पवन राई र माईजोगमाईका जोएल राईले गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच माईजोगमाईका गोलरक्षक फागो घोषित भए ।
यस्तै बिहीबार नै भएको दोश्रो क्वाटरफाइनल खेलमा ३–१ गोल अन्तरले चुलाचुली गाउँपालिकालाई हराउँदै देउमाई अन्तिम ४ मा प्रवेश गरेको छ ।
खेलको १९औ मिनेटमा सुदर्शन लिम्बूले देउमाईलाई अग्रता दिलाए । ४१औ मिनेटमा चुलाचुलीका आशिष राईले खेल बराबरी गरे । ४९औ मिनेट र इन्जुरी समयमा देउमाईका मुकेश मगरले गोल गरे । खेलको म्यान अफ दि म्याच २ गोल गरेका मगर घोषित भए ।
प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेल शुक्रबार इलाम नगरपालिका र माङसेबुङ गाउँपालिकाबीच हुनेछ । इलाम नगरपालिकाले पहिलो प्रि–क्वाटरफाइनल खेलमा सन्दकपुर गाउँपालिकालाई हराएको थियो ।
चौथो क्वाटरफाइनल खेलमा सूर्योदय नगरपालिका र माई नगरपालिका भिड्नेछन् । सूर्योदय नगरपालिकाले दोश्रो प्रि–क्वाटरफाइनल खेलमा फाकफोथुमलाई हराएको थियो ।