२०८१ जेठ ७, सोमवार , ०६:३०:३१ बजे

Sajhamanch
'

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिहिवार, वैशाख २७, २०८१

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्वारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम बिहीबार बिर्तामोडमा गरिएको छ ।

कार्यक्रममा भाषाविद् तथा अग्रज पत्रकार चूडामणि रेग्मीलाई सम्मान प्रदान गरिएको थियो । पत्रकार महासंघ झापाले ६५ वर्ष उमेर पूरा भएका अग्रज पत्रकारलाई यसै वर्षदेखि औषधि उपचार खर्चसहित दीर्घसेवी सम्मान प्रदान गर्न थालेको छ ।

वैशाख १७ गते उद्घाटन गरिएको १४औं जिल्ला अधिवेशनमा अनुपस्थित रेग्मी, कृष्ण दाहाल र लेखनाथ भट्टराईलाई बिहीबार सम्मान प्रदान गरिएको हो ।
महासंघ झापाको बिर्तामोडस्थित कार्यालयमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले इतिहासका धरोहरलाई सधै सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले अघिल्लो पुस्ताको योगदानको जगमा टेकेर नयाँ पुस्तालाई डोहोर्याउने दायित्व पनि रहेको बताए ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला अदालतका मुख्य न्यायाधिश अशोककुमार बस्नेत रहेका थिए । मुख्य न्यायाधिश बस्नेतले न्यायालय र पत्रकारिता दुवै क्षेत्रमा असल र खराब पात्रहरु तथा पक्ष रहेको बताउँदै पेशाको मर्यादा र गरिमा कायम गर्न सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

असल र निष्पक्ष पत्रकारिताले राज्यका निकायलाई खबरदारीसँगै मजबुत बनाउने भन्दै उनले झापाली पत्रकारिता र अग्रजहरुको योगदानको चर्चा गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, कोशी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, अग्रज पत्रकार तथा साहित्यकार चूडामणि रेग्मी, झापा शाखाका पूर्व सचिव सन्तोष आचार्यले पुस्तकको परिचर्चा गरेका थिए ।

सम्पादक गोपाल गिरीले पुस्तकका बारेमा प्रकाश पारेको कार्यक्रममा शाखा उपाध्यक्ष केशव भट्टराईले स्वागत र सचिव डिकेश लामाले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर