
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका निर्माणाधीन सबै पुल आउँदो कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने चार वटा निर्माणाधीन छन् ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यकाअनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् ।
निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ । यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको उहाँले बताउनुभयो । खहरे खोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले धेरै समय लाग्ने भएको हो । इन्जिनियर आचार्यले कात्तिक मसान्तसम्ममा तुइन खोलाको काम सकिने बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडक खण्डमा १९ वटा पुल छन् ।