
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दिएको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्ण धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले वैशाख २५ गते सर्वोच्चमा रिट दिएको थियो।
सोही दिन सर्वोच्चले उक्त रिटमा सुनुवाइका लागि वैशाख २७ गते पेशी तोकेको थियो। रिटमा कांग्रेसले संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेश माग गरेको छ। रिटमा सभामुख धिताल, मुख्यमन्त्री अधिकारी र गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको छ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए। त्यस दिन प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए।
मुख्यमन्त्री अधिकारीका पक्षमा ३० मत खसेको थियो भने विपक्षमा २७ र राप्रपाका दुई सांसद तटस्थ बसेका थिए। सर्वोच्च अदालतले नै ६० सदस्यीय प्रदेश सभाको बहुमत ३० हुने ब्याख्यालाई आधार मानेर गण्डकी सभामुख धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।