२०८१ पौष २३, मङ्गलवार , ०९:०८:४० बजे

Sajhamanch
'

बाहुनडाँगीमा आत्महत्यासम्बन्धी सचेतना कार्यक्रम

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगीमा ‘बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार’ विषयक सचेतनामूलक कार्यक्रम गरिएको छ ।

नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर वडा नम्बर ४ को सहयोगमा मंगलवार आयोजित सो कार्यक्रमको उद्घाटन उक्त वडाका अध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए ।

त्यसक्रममा प्रमुख अतिथि वडा अध्यक्ष कार्कीले भविष्यको सम्भावना बोकेका बालबालिकालाई समयसँगै चल्नुपर्नेतर्फ सचेत गराउँदै अमूल्य जीवनको सारलाई बुझेर अघि बढ्न सिक्नुपर्ने बताए ।

पछिल्लो समय किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढेसँगै त्यसको अप्रत्यक्ष असर समाजमा समेत पर्न थालेको उनको भनाइ थियो ।

सो अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले झापामा आत्महत्याको अवस्था र बालबालिकाले आत्महत्या गर्नुको कारण प्रेम, आर्थिक अवस्था र उच्च महत्वकांक्षा रहेको अनुसन्धानले देखाएको बताए ।

त्यस्तै, मनोपरामर्शदाता एवँ धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले विद्यार्थीहरुको मनको कुरा कसरी बुझ्न सकिन्छ, कुन कुरामा तनाव हुँदैछ लगायत विषयमा बुझ्न जरुरी रहेको बताए ।

पारिवारिक, शारीरिक वा सामाजिक कुनै कारणले उसले आत्महत्याको सोच बनाएको छ कि भनेर अभिभावक, शिक्षक, साथीहरूले नै बुझ्न जरुरी रहेको उनको भनाइ थियो ।

मनोपरामर्शदाता लुइँटेलले विद्यार्थीले बोल्दै गर्दा, विद्यालयमा विदा माग्दै गर्दा पनि साथीहरूले उसको मनोविज्ञान बुझ्नुपर्ने कुरामा सचेत गराए ।

विद्यार्थीका तर्फबाट सरस्वती माविका संयोग शर्माले कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर पाएको र यसले जीवनमा ठूलो महत्व राख्ने बताए ।

विद्यालयका तर्फबाट पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधानले समयसापेक्ष यस्ता कार्यक्रमहरु आयोजना गर्न आवश्यक रहेको र यसले विद्यार्थीमा सकारात्मक सोचाइको विकास हुने बताए ।

कार्यक्रममा सरस्वती माविकी शिक्षक प्रतिनिधि अनिता थापा, अंशु एकाडेमीका प्रधानाध्यापक किरण अधिकारी, विद्या विकास विद्यालयका शिक्षक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

वडा कार्यालयको सभाहलमा भएको सचेतनामूलक कार्यक्रममा बाहुनडाँगी आसपासका १५० जना विद्यार्थीको उपस्थिति थियो ।

संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागतसहित औचित्यमाथि प्रकाश कार्यक्रम संयोजक विनिशा शर्माले पारेकी थिइन् । सो कार्यक्रमको सञ्चालन जोश्ना श्रेष्ठले गरेकी थिइन् ।

सम्बन्धित खबर