काठमाडौं । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।
‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि चाहिं फिर्ता नआउने अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले अनलाइनखबरलाई बताए । ‘यो फङ्सनल होइन, चस्मा खोलेर बाहिरबाट हेर्दा उहाँको आँखा अलि राम्रो देखियोस् भनेर कस्मेटिक प्रोथेस्टिक राख्या हो,’ उनले भने ।सर्वसाधारणले बुझ्ने भाषामा यो सर्जरीलाई बाहिरबाट हेर्दा खाल्डोलाई पुरेको मात्र भन्न सकिने रुइतको भनाइ छ । ‘उहाँको दृष्टिमा सुधार आउने सम्भावना त छैन । तर कस्मेटिक प्रोथेस्टिक सर्जरी नै हो । चस्मा खोल्दा उहाँलाई सहज हुन्छ,’ उनले भने । उनका अनुसार प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन ।
अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने डा. रुइतले बताए । ‘अहिलेसम्मको प्रविधिले उहाँमा ज्योति फिर्ता ल्याउँदैन । प्रविधि बलियो भएर आयो भने भविष्यमा आउला,’ उनले भने, ‘उहाँको आँखामा ज्योति आउँदैन भनेर मैले पहिला पनि भनेको हुँ । यो कुरामा अहिले पनि म कायम छु ।’यसअघि इण्डियन आइडलको सिजन १४ मा पनि मेनुकालाई एआई जडित चस्मा प्रदान गरिएको थियो ।