
काठमाडौं । आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको ज्यान गएको छ । हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको ज्यान गएको हो ।
बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा शुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो । केही दिन अघिदेखि स्थानीय जङ्गलमा डढेलो लागिरहेको छ ।