
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा हिजो भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’ मा उहाँले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिनुभएको हो । आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो ।
उहाँले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई दिन पनि अनुरोध गर्नुभएको छ । उहाँले नागरिकको ज्यान बचाउन राज्यले स्रोत–साधनको अभाव देखाउन नहुने पनि बताउनुभयो । स्रोत–साधन अपुग रहे पनि भएकाको उच्चतम सदुपयोग गर्न, कार्ययोजना बनाएर अगाडि बढ्न, जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न उहाँले निर्देशन दिनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको छ भने एक सय ४० जना घाइते भएका छन् । एक हजारभन्दा बढी घर पूर्णरुपमा नष्ट भएको प्राधिकरणले जनाएको छ । आगलागी पीडितलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी ५० हजार रुपैयाँ अनुदान दिने सरकारले निर्णय गरिसकेको छ ।