
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–१ को बाराउद्योरण गाउँमा आगलागी हुँदा ६५ घर जलेका छन् । हिजो दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो ।
हिजो दिउँसो १ बजेतिरबाट शुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको सहारामा झन्डै चार घण्टापछि निभाइएको वडाध्यक्ष ठाकुरले बताउनुभयो । फुसको र खपडाको छानासहितका घर धेरै भएकाले आगो चाँडै फैलिएको उहाँको भनाइ छ ।
विष्णु गाउँपालिकाका प्रमुख जवाहरलाल यादवले आगलागीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको र भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका बताउनुभयो । अहिले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।