
बुुद्धशान्ति । बुुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलामलाई २–० गोल अन्तरले हराउँदै बेलबारी एफसीले अन्तिम चारमा स्थान सुरक्षित गरी सेमीफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ ।
मंगलबार भएको क्वाटरफाइनल खेलसँगै सेमीफाइनल संस्करण पूरा भएको छ । खेलको १४औं मिनेटमा बिवेक पौडेलको क्रस पासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पेनाल्टी एरियाबाट उनले गरेको प्रहारलाई बिपक्षी गोलरक्षकले बचाउ गर्न सकेनन् । खेलमा दोस्रो गोल पनि अवस्थीको नाममा रहयो । ४३औं मिनेटमा सागर तिवारीले पेनाल्टी एरियामा दिएको हेडरलाई सदुपयोग गर्दै अवस्थीले सुुन्दर गोल गरेका थिए ।
दुुई विदेशी खेलाडी मैदानमा उतारेको रेडहर्षले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेको भए पनि असफल भयो । उसका लागि खेलको ४७औ मिनेटमा छिरिङ गुरुङले दिएको पासलाई विदेशी खेलाडी ओस्कारले हेड मार्फत गोल गर्ने प्रयास गरे पनि बेलबारीका गोलरक्षक पूर्ण चेम्जोङले उत्कृष्ठ बचाउ गरेका थिए ।
त्यस्तै ५३औं मिनेटमा इलामका कप्तान पुस्कर दाहालले दिएको पासलाई अनमार्क रहेका अर्जुन गुरुङले गरेको कडा प्रहार बेलबारीका गोलरक्षक चेम्जोङले बिफल बनाए । ६९औं मिनेटमा इलामका शिशिर लेखीले दिएको पासलाई ओस्कारले गोल गर्न नसक्दा इलाम निरास हुँदै घर फर्किएको छ ।
१२औं मिनेटमा बेलबारीका बिवेक पौडेलले गरेको कडा फ्रि किक इलामका गोलरक्षक निशम दनुवारले बचाए । खेल अवधिभर बललाई नियन्त्रणमा लिन सफल बेलबारीले निर्धारित समयमा थप गोल गर्न भने सकेन ।
आजको प्लेयर अफ दि म्याच बेलबारीका दुुई गोल गर्ने खेलाडी प्रशान्त अवस्थी घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए ।
भोलि बुधबारको पहिलो सेमीफाइनल खेलमा आयोजक आदर्श युवा क्लबले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्ने छ ।