२०८१ जेठ ४, शुक्रवार , १२:१९:५३ बजे

Sajhamanch
'

उपचुनावबाट एमाले उत्साहित, नयाँ शक्तिलाई धक्का

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ । प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपचुनावमा एमालेले आफ्नै सिट जोगाएको हो भने प्रदेश सभा अन्तर्गत बझाङ १ (क) मा भएको उपचुनावमा एमालेले कांग्रेसको सिट खोसेको छ । इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारी निर्वाचित हुनुभयो ।

सिट सङ्ख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल नल्याए पनि नतिजाले एमालेलाई उत्साहित बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाममा विजयी जुलुसलाई सम्बोधन गर्ने कुराले पनि एमाले उत्साहित भएको देखाउँछ । पुराना शक्तिले आफूहरूप्रतिको विश्वास देखाउने र नयाँ शक्तिहरूले आफूहरूको विस्तार देखाउने गरी प्रचार गरेका कारण पनि यो चुनाव दलहरूका लागि प्रतिष्ठाको विषय बनेको थियो ।

यस्तै अघिल्लो चुनावअघि विभिन्न कारण धेरै आलोचित बनेर पुनः लयमा फर्कन लागेको एमालेका लागि यो जित आफ्नो क्षमता देखाउने माध्यम बनेको राजनीतिक विश्लेषक प्राध्यापक डा। लोकराज बराल बताउनुहुन्छ । यस्तै चुनावको नतिजाले पुराना दलहरू विशषगरी कांग्रेस र एमालेकै प्रभाव देखाएको पनि डा। बरालले बताउनुभयो ।

नयाँ शक्तिको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि इलाममा प्रचारलाई व्यापक बनाएको थियो । तर इलाममा रास्वपाका उम्मेदवारको धरौटीसमेत जफत भयो । इलाममा रास्वपाले पाएको मतले नयाँ शक्तिका नेताहरूको आचरण सुधार हुनुपर्ने देखिएको प्राध्यापक डाक्टर बरालले बताउनुभयो ।

इलाममा रास्वपाका उम्मेदवारले कम मत पाउनुमा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिनु र हतारहतार सरकारमा सहभागी हुनु मुख्य कुरा रहेको धेरैको भनाइ छ । यो कुरालाई पार्टीको तर्फबाट कमान्डरको रूपमा इलाम–२ मा खटिएका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि स्वीकार गर्नुभएको छ ।

सम्बन्धित खबर