
काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्म बाटो खुलेको छ । पर्यटन विभागकाअनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गतेदेखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।
यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि अहिलेसम्म ३७ आरोही समूहका तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ ।