२०८१ वैशाख २३, आइतवार , ०४:४६:५१ बजे

Sajhamanch
'

सदस्य केन्द्रीत कारोबारले सहकारी संस्था कहिल्यै धरासयी बन्दैन : टसबहादुर श्रेष्ठ

बिहिवार, वैशाख १३, २०८१

झापा । अघिल्लो महिना सार्वजनिक भएको एउटा खबरले सहकारी बजारमा एउटा राम्रै सन्देश प्रवाह गरेको थियो । मुलुकभरका सहकारी संस्थाको अवस्थाबारे तिनीहरुको वित्तीय अवस्था माथि गरिएको अध्ययनले देशका १० ठूला सहकारीहरु बारे सार्वजनिक गरेको थियो । सहकारीका विविध पक्षलाई आधार मानेर गरिएको उक्त अध्ययनले झापाको तीनवटा सहकारीलाई उत्कृष्ट १० मा राखेको थियो । तीमध्ये बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थालाई देशको नवौं र कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था भनिएको छ ।

यिनै सन्दर्भहरुसहित कर्णाली साकोस सञ्चालक समितिका अध्यक्ष टसबहादुर श्रेष्ठसँग सहकारी क्षेत्रका समसामयिक विषयमा साझामञ्च डटकमले कुराकानी गरेको छ । टेलिभिजन कार्यक्रम साझा सहकारी मञ्च अंक १५४ मा प्रसारण भएको सो अन्तरवार्ताको सम्पादित अंश ।

तपाईंले नेतृत्व गर्नुभएको सहकारीले देशभरमा नवौं र कोशी प्रदेशमा तेस्रो स्थान लिएको खबरलाई कुन रुपमा लिनुभएको छ ?

यो खबर सार्वजनिक भइरहँदा हामी सिँगो संस्था परिवार हर्षित बनेका छौं । हाम्रो संस्था देशकै उत्कृष्ट १० मा छनोट हुनु सहकारीका लागि आफैंमा राम्रो पक्ष हो ।

सहकारी धमाधम धरासायी भइरहेको सुनिन्छ । यथार्थ यस्तै हो त ?

केही सहकारीको अवस्था यस्तै छ । समग्रमा भने होइन । सहकारीका केही सञ्चालकहरुले सदस्यहरुको पैसा अपचलन गरेर अरबौं रुपैयाँ हिनामिना गरेका उदाहरण पनि छन् । केही सहकारी डुबाएर भाग्नुपरेको अवस्था पनि छ । सहकारीको भीडमा राम्रा सहकारी पनि केही छन् भन्ने कुराको पुष्टि वित्तिय पोष्ट अनलाइनबाट पनि हुन्छ ।

नेपालको नवौं र कोशी प्रदेश तथा झापाको तेस्रो ठूलो सहकारी संस्था घोषित भएपछि झापा जिल्ला सहकारी संघले गत चैत २१ गते ६७औं सहकारी दिवसमा गरेको सम्मान ग्रहण गर्दै अध्यक्ष श्रेष्ठ ।

झापाका सहकारीप्रति तपाईंको बुझाई ?

समग्रमा झापाका सहकारीहरु अन्य ठाउँमा जस्तो बिग्रिएको छैन । देशकै ठूला दुई सहकारी झापामै छन् । प्रदेशमै पनि तीन ठूला सहकारीमा झापाकै परे । अपवाद बाहेक झापामा सहकारीको अवस्था सन्तोषजनक छ । त्यसैले त अहिलेसम्म झापालाई सहकारीको एउटा हबकै रुपमा पनि लिइन्छ । अरबौंको कारोबार गर्ने सहकारीहरु झापामै छन् ।

सहकारीलाई दीर्घकालसम्म दर्बिलो बनाउने आधार के हुनसक्छ ?

हाम्रै सहकारीले पनि सफलताको सिँढी उक्लिएको छ । यो सन्देशले सहकारी अभियानमा अघि बढ्न हामीलाई उर्जा थपेको छ । यसको श्रेय म सम्पूर्ण शेयर सदस्यहरुलाई सुम्पिन्छु । सदस्य ज्यूहरुबाट प्राप्त विश्वासले नै संस्थाले यो उचाई लिएको हो ।

संस्था सबल बन्नुको प्रतिफल आर्थिक कारोबारमा सदस्यहरुले निर्वाह गरेको भूमिका, दायित्व र जिम्मेवारी नै हो । सञ्चालकहरुले सदस्यहरुले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरे संस्था अगाडि बढ्न सक्छ । र, सदस्यहरुमा पनि विश्वासको वातावरण बन्छ ।

संस्थाको गरिमा र ओजनलाई कायम राख्न तपाईंको साकोसले कस्तो रणनीति अघि सारेको छ ?

संस्थाको स्तरोन्नति र विकासलाई गति दिन आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ । सञ्चालकहरुले सदस्यहरुको विश्वास जित्नसक्नुपर्छ । सदस्यहरुले पनि संस्थाप्रति भरोसा गर्दै आर्थिक कारोबारमा सक्रियता प्रदर्शन गर्नुपर्छ । यसो गर्दा स्थान अझ बढ्नसक्छ । संस्थाले गति लिन सदस्यहरुले नियमित बचत गर्नु र कर्जा प्रवाह गर्नु हो । सदस्यहरुलाई उत्पादन र व्यवसायतर्फ बढी कर्जा प्रवाह भएमा र सदस्यहरुले पनि कर्जाको सदुपयोग गर्दै कर्जाको नियमित किस्ता तिर्ने हो भने संस्था आफैं अगाडि बढ्छ । सञ्चालकमुखी कारोबार हुँदा संस्था चल्दैन । सदस्य केन्द्रीत कारोबार हुनुपर्छ ।

पछिल्लो समय आर्थिक मन्दिका कारण कतिपय संस्थाले लगानी गर्न सकिरहेको छैन । गरिएको लगानी उठिरहेको छैन । बचत संकलन अपेक्षाकृत छैन । बचत फिर्ता भइरहेको छैन । लगानी नउठेपछि आम्दानी हुने कुरै भएन । त्यसले गर्दा सञ्चालन खर्च बढेर जान्छ ।

सहकारीको अबको बाटो के हो ?

सहकारीबीच स्वस्थ प्रतिस्पर्धा जरुरी छ । सबै सहकारीकर्मी एकताबद्ध भएर अघि बढ्दा उत्पन्न आन्तरिक समस्या सहजै समाधान हुन्छ । अब स-साना सहकारी एक भएर मजबुत बन्नुपर्छ भन्ने मेरो आग्रह हो । एकीकरण अभियानलाई द्रुत गतिमा अघि बढाएर झापामा झण्डै ८ सय सहकारीबाट ३ सय सहकारीमा झर्न सकिए सहकारी मजबुत हुन्छ । सहकारीबीचको अस्वस्थ प्रतिस्पर्धा पनि कम हुन्छ । र, सदस्यहरुको विश्वास पनि सहकारीले जित्न सक्छ ।

सहकारी अभियानमा अग्रज सहकारीकर्मीहरुले राज्यले ऐनमा व्यवस्था गरे अनुसारको कर्जा सूचना केन्द्र र असुली न्यायाधिकरणको व्यवस्था गर्ने हो भने अहिले देखिएको बाह्य समस्या आफैं निराकरण भएर जान्छ । अहिले कर्जा सूचना केन्द्र नहुँदा ऋण नतिर्दा हुन्छ भन्ने कतिपयलाई लागेको छ । ऋणीले लिएको पैसा सबै शेयर सदस्यहरुको हो । एक जना ऋणीले पैसा नतिर्दा १० जना बचतकर्ताको पैसा डुब्छ । यो कुरा बुझिदिन मेरो आग्रह छ ।

केही सहकारी भागे भन्ने हल्ला छ । ऋणीले ऋण नतिर्ने क्रम बढ्यो भने राम्रै चलेका सहकारी पनि डुब्न सक्छन्, भाग्न बाध्य बन्छन् । सहकारीले निम्न र मध्यम वर्गका व्यक्तिलाई बिना धितो प्रवाह गरेको कर्जा अभियानलाई ऋणीले बचाउनुपर्छ । होइन भने हामी बिना धितो कर्जा प्रवाह रोक्न बाध्य हुन्छौं । यस्तो अवस्था आए जग्गाजमिन नहुने कहाँबाट कर्जा खाने वित्तिय संस्थामा उनीहरुको पहुँच पुग्दैन ।

अन्तरवार्ताको विस्तृत खण्ड तलको युट्युव र फेसबुक पेजको लिङ्क मार्फत् हेर्न सकिनेछ ।

https://www.facebook.com/SajhaManchJhapa/videos/1131766004538710

सम्बन्धित खबर