
काठमाडौं । आउँदो वैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा १४८ वटा परियोजना सोकेसमा राखिदिन लगानी बोर्डले सरकारलाई प्रस्ताव गरेको छ । यसमध्ये निजी क्षेत्रका ३१ परियोजना छन् । त्यस्तै तीन तहका सरकार सम्मिलित परियोजना ११७ वटा रहेको लगानी बोर्डले जनाएको छ ।
सङ्घ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी ९ खर्ब रुपैयाँ बराबरका १४८ परियोजना सोकेसमा राखिदिन सरकारलाई प्रस्ताव गरिएको हो । अर्थमन्त्री वर्षमान पुनले लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिस्कृत बनाएको अर्थमन्त्री पुनको भनाई छ । नेपालमा लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन परिमार्जन तथा संरचनागत सुधार हुँदै गएको उहाँको तर्क छ । लगानी सम्मेलनअघि सबै राजनीतिक दल, विषयविज्ञ तथा सरोकारवालसँग पर्याप्त छलफल गर्ने र सम्मेलनमा आवद्ध गराउने उहाँले जानकारी दिनुभयो ।
निजी क्षेत्र र लगानीकर्ताको सुझाव समेटेर सरकारले अध्यादेशमार्फत् कानूनी सुधारको प्रयास गरेको मन्त्री पुनले बताउनुभयो । नेपालमा लगानीका लागि ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृषि प्रशोधनलगायतका क्षेत्र बढी उपयुक्त रहेकाले ती क्षेत्रमा लगानी गर्न उहाँले लगानीकर्तालाई आह्वान गर्नुभयो ।
नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग मित्रवत् सम्बन्ध रहेकाले यहाँको उत्पादन छिमेकी देशका बजारसम्म पुर्याउन समस्या नरहने बताउनुभयो । सम्मेलनमा विभिन्न विषयका १० वटा सत्रमा छलफल हुनेछ । सम्मेलनमा एक हजारभन्दा धेरै व्यक्तिको सहभागिता रहने अनुमान छ ।