
काठमाडौं । चालु वर्षको नौ महिना गुज्रिदासम्म सरकारले एक तिहाइ मात्रै पुँजीगत खर्च गरेको छ।
यस वर्ष तीन खर्ब दुई अर्ब रूपैयाँको पुँजीगत बजेट विनियोजन गरिएकोमा नौ महिना आठ दिनको समयमा बल्ल एक खर्ब खर्च भएको हो।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत शुक्रबारसम्म एक खर्ब सात करोड ६१ लाख रूपैयाँको पुँजीगत खर्च भएको छ। यो सरकारले विनियोजन गरेको पुँजीगत बजेटको ३३.१३ प्रतिशत मात्रै हो।
समग्र बजेट भने ५३.०४ प्रतिशत खर्च भएको छ। यो वर्ष चालु खर्च र पुँजीगत खर्च घटेको छ भने वित्तीय व्यवस्थापन खर्च बढेको छ।
११ खर्ब ४१ अर्ब चालु खर्च विनियोजन गरिएकोमा ६ खर्ब ५९ अर्ब खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब रूपैयाँको बजेटमा एक खर्ब ६९ अर्ब रूपैयाँ खर्च भएको छ। यो खर्च अधिकांश सार्वजनिक ऋणको साँवा भुक्तानीमा भएको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु वर्षको नौ महिनामा एक खर्ब ५२ अर्ब रूपैयाँको साँवा फिर्ता भएको छ।