बुटवल । अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।
जिल्लाको शितगंगा नगरपालिकामा बिहीबार भएको बस दुर्घटनामा परी घाइते भएका शितगंगा–८ लाहापेका १३ वर्षीय प्रज्ज्वल बुढाथोकीको मृत्यु भएको हो । उनको चौराहा अस्पताल बुटवलमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुपादेउराली मन्दिर दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा–४ कोप्चिबासमा दुर्घटना भएको थियो । त्यसक्रममा प्रज्ज्वलसहित १७ जना घाइते भएका थिए । घाइते सबै दाङको गढवाका हुन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेन्द्र रावलका अनुसार घाइतेहरुको बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।