
काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङसँगको खेलमा नेपालले टस जितेको छ ।
ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङ गर्ने निर्णय गरेका छन् । आजको खेल वर्षाका कारण प्रभावित भएपछि १८ ओभरमा झारिएको छ ।दुई खेलमा दुवै खेल जितेको नेपाल समूह ‘ए’ को अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो स्थानमा छ ।
प्रतियोगितामा अहिले समूह ‘ए’ कै मलेसिया र कतार खेलिरहेका छन् । त्यस्तै आजै समूह ‘बी’अन्तर्गत ओमान र यूएई तथा बहराइन र कुवेत खेल्दैछन् । दुवै खेल बेलुका पौने ५ बजे शुरु हुनेछ ।
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।