२०८१ माघ १२, शनिवार , ०८:२०:२७ बजे

Sajhamanch
'

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा अन्योल, सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दुईजनाको दाबी परेपछि नियुक्तिमा अन्योल भएको छ । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेस भएपछि प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री नियुक्तिमा निर्णय गर्न समस्या भएको हो । रेशम चौधरी पक्षका लक्ष्मणकिशोरलाई कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन छ ।

यस्तै रञ्जिता श्रेष्ठ पक्षका कैलाशलाई एमाले र माओवादीको समर्थन छ । ५३ सदस्यीय सुदूरपश्चिममा बहुमतको लागि २७ जना सांसदको आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ६ र एकीकृत समाजवादीका ४ जना सांसद छन् । त्यस्तै, राप्रपाका एकजना र एकजना स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्रीमा दावी गर्ने नागरिक उन्मुक्ति पार्टीका दुवैजनाले आफ्नो पार्टीका ६ जनाको समर्थन रहेको बताएका छन् । मुख्यमन्त्रीमा दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँ तत्काल ‘पर्ख र हेर’ को रणनीतिमा हुनुहुन्छ । आवश्यक परे भौतिक उपस्थिति गराएर सांसदको सनाखत गर्ने उहाँको तयारी छ ।

नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योलसँगै केन्द्रको सत्ता गठबन्धनमा पनि खटपट ल्याएको छ । आफ्नै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हिजो नै प्रदेश प्रमुखको कार्यालय पुगेर पार्टीको आधिकारिक उम्मेदवार कैलाश चौधरी भएको बताउनुभएको छ ।

पूर्वसहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नपाएको भन्दै एकीकृत समाजवादीले सत्तागठबन्धनमा बिद्रोह गरेको हो । उसको बिद्रोहले सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न उठेको छ ।

सम्बन्धित खबर