
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट गाडी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ शुरु गरेको छ ।
अभियानको शुभारम्भ गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष ‘अपरेशन’ सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । गृहमन्त्री लामिछानेले नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताउनुभयो । ट्राफिक नियम पालनामा लापर्बाही भइरहेको सन्दर्भ जोड्दै उहाँले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै लामिछानेले अब नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी गर्नेलाई समेत पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिनुभयो । विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुँदा यो अभियान अति महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको व्यवहार सुधारमा जोड दिनुभयो । उपमेयर डङ्गोलले नागरिकले पनि जिम्मेवार भएर सडक प्रयोग गर्नुपर्ने बताउनुभयो ।