
काठमाडौं । अर्थ मन्त्रालयले खर्च नभएका आयोजनाबाट रकमान्तर गरेर बजेट खर्च बढाएको छ । अर्थमन्त्रीका रूपमा वर्षमान पुन आएपछि खर्च नभएका आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो ।
पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रुपैयाँ रकमान्तर गरी खर्च भएको छ । यस्तै दुई अर्ब ६३ करोड रुपैयाँको कार्यक्रम संशोधन गरिएको अर्थ मन्त्रालयले जनाएको छ । विविध शीर्षकमा राखिएको तर अहिलेसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड रुपैयाँ खर्च गरिएको छ ।
बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने कामलाई रकमान्तर भनिन्छ । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पैसा पठाएर खर्च गर्ने कामलाई कार्यक्रम संशोधन भनिन्छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा चालु आर्थिक वर्षको बजेट खर्च हुन नसकेपछि रकमान्तर, कार्यक्रम संशोधन र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था छ । ऐनको व्यवस्थाभित्रै रहेर खर्च बढाउने प्रयास गरेको मन्त्रालयको दाबी छ ।
कुल रकमान्तर भएको एक अर्ब ६३ करोड रुपैयाँमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ । स्वास्थ्य मन्त्रालय मातहतका सरकारी निकायले ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर गरेका छन् ।