
धनुषा । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् । विशेष गरी आज खेतबारीमा पानी हाल्ने गरिन्छ ।
सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । पर्वका अवसरमा आज हिलो खेलेर वर्षौंभरि सहकालको कामना गरिन्छ । पर्वमा दहीकरी, बरीकरी, काँचो केरा, लौका र परवलका तरुवा, सजिउनको तरकारी पनि खाने परम्परा छ ।
मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजै मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ पनि मनाइँदैछ ।