२०८१ वैशाख १९, बुधवार , १२:४३:५३ बजे

Sajhamanch
'

एनएमसी एग्रो फार्मका कर्मचारीहरुले लिए उत्प्रेरणा तालिम

शुक्रवार, चैत ३०, २०८०

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत एग्रो फार्मका कर्मचारीहरुलाई शुक्रबार उत्प्रेरणामूलक तालिम दिइएको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिद्वारा आयोजित तालिमको सहजीकरण उपसमितिका सदस्य अर्जुनप्रसाद थपलियाले गरेका थिए ।

त्यसक्रममा सहजकर्ता थपलियाले कर्मचारी वर्गको सकारात्मक सोच र व्यवहारले असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने नारा सार्थक बनेको बताए ।

‘बानी संस्कार र संस्कार सोचबाट उब्जिन्छ, त्यसैले हाम्रो सोच सधैं सकारात्मक हुनुपर्छ’, सहभागीहरुमा उर्जा भर्दै उनले भने । उनले खराब आचरणलाई त्यागेर भोलिको चिन्ता नगरी आजको कामलाई आजै दत्तचित्त भएर गरेमा सफलता प्राप्त हुने बताए ।

“चिन्ताले चितामा पुर्याउँछ त्यसै भनिएको होइन, चिन्ताले मान्छेलाई ज्यूँदै डढाउँछ, त्यसैले हामीले रिसराग छोड्नुपर्छ” थपलियाले भने, “चिन्ता र तनावले दिनचर्यामा नकारात्मक प्रभाव पार्छ ।”

सहजीकरणका क्रममा उनले मुस्कानमा ठूलो तागत रहेकाले मुस्कानले ७० प्रतिशत रोग निको पार्ने बताए ।

कृषिकर्म गर्नेहरु सधैं सम्मानीत स्थानमा हुने भन्दै उनले कृषकले उब्जाएको अन्नपात कै कारण सम्पूर्ण प्राणी जीवित रहेको बताए ।

सहकारीको भीडमा एनएमसी देशकै दोस्रो हुनुमा कर्मचारी वर्गको योगदान महत्वपूर्ण रहेको थपलियाले बताए ।
कर्मचारीको इमान्दारिता, लगनशीलता, अथक परिश्रम, सकारात्मक सोच र व्यवहारका कारण एनएमसीले अहिलेको आकार र उचाई लिएको उनले बताए ।

कार्यक्रम समापनका क्रममा प्रतिक्रिया दिँदै एनएमसी एग्रो व्यवसाय उपसमिति संयोजक हिरा पोखरेलले फार्मका पौरखी कर्मचारीहरुमा थप जोश जाँगर भर्न तालिम उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम समापनपछि तालिममा सहभागी मध्येबाट अशोक भूजेल र गंगा घिमिरेले अनुभूति मन्तव्य राखेका थिए ।

तालिम आयोजक उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसमिति सदस्य गोपाल काफ्लेले स्वागतसहित औचित्यबारे प्रकाश पारेका थिए । सो कार्यक्रमको सञ्चालन उपसमितिका सदस्यसचिव हिरन कट्टेलले गरेकी थिइन् ।

सम्बन्धित खबर