२०८१ कार्तिक १०, शनिवार , १२:५६:३८ बजे

Sajhamanch
'

रहेनन् काँकरभिट्टाका अग्रज सामाजिक व्यक्तित्व पौडेल

बुधवार, चैत २८, २०८०

मेचीनगर । काँकरभिट्टाका संस्थापक मध्येका एक अग्रज समाजसेवी बुद्धिनाथ पौडेलको ७६ वर्षको उमेरमा आज निधन भएको छ ।

मेचीनगर–६ काँकरभिट्टास्थित निजी निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वि.सं. २००४ साउन २८ गते जन्मिएका उनी मेचीनगरको शिक्षा, स्वास्थ्य, यातायात, वाणिज्यलगायतका विभिन्न विकास निर्माणका अगुवा थिए ।

काँकरभिट्टाका संस्थापकको रुपमा सम्मानित उनले काँकरभिट्टा मावि, काँकरभिट्टा क्याम्पस, मेची बस व्यवसायी संघ, काँकरभिट्टा वाणिज्य संघ, काँकरभिट्टा खानेपानी उपभोक्ता समिति, मेची सामुदायिक सेवा केन्द्रलगायतका दर्जनौं संस्था स्थापना गर्दै त्यसको लामो समय कुशलतापूर्वक नेतृत्व समेत गरेका थिए ।

निजी निवासमै उनको पार्थिव शरीर राखिएको छ ।  उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, सामाजिक अगुवालगायत भेला भइरहेका छन् ।

नेकपा एमालेका पुराना नेता पौडेलको काँकरभिट्टामा एमालेको संगठन विस्तारमा ठूलो योगदान रहेको उनका छिमेकीसमेत रहेका पत्रकार सन्तोष आचार्य बताउँछन् । स्व. पौडेल एमालेको काँकरभिट्टस्थित क्षेत्रीय पार्टी कार्यालयको जग्गादातासमेत रहेका उनले बताए ।

उनको पत्नी शोभाकुमारी पौडेल, ३ जना छोराहरु कृष्ण, कमल र मनोज पौडेल छन् भने २ जना छोरीहरु विष्णु र रञ्जना छन् ।

उनको आज दिउँसो २ बजे मेची घाटमा दाहसंस्कार गरिने छ ।

सम्बन्धित खबर