
झापा । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको दुई वटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार राती धुलाबारी चोकबाट एचआर ६९ सी ४६५९ र जीटी ३४६५ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा भारतीय सेनाबाट अवकाश भएका १० जना नेपालीहरू रहेका छन् । उनीहरूले प्रयोग गरिएका पुराना सरसामान ९जिटीकुन्टा० हरू लिएर घर फर्किँदै थिए । उनीहरू सबैको घर पश्चिम हो । यात्रु शाखाबाट पुराना सरसमानको जाँचपास गराए बापत ६० हजार राजश्व भन्सार बुझाएको प्रज्ञापन पत्र प्रहरीले फेला पारेको छ ।
तर, ट्रकभित्र प्रयोग भएका पुराना सामानसहित १७ वटा नयाँ वासिङ मेसिन रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा प्रहरीले दुवै ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । जाँचपास गराउँदा नयाँ वासिङ मेसिनको भन्सार नतरेको स्रोतको दाबी छ ।