
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । मनोनयन दर्ता कार्यक्रम नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुनेछ ।
संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ । अध्यक्ष नारायण दाहाल रहेकाले संवैधानिक व्यवस्थाअनुसार दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला उम्मेदवार तय गर्नुपर्नेछ । राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक(एक तथा दुई जना मनोनीत सदस्य छन् ।
माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा एमाले, एकीकृत समाजवादी र जसपा नेपालबिच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनेबारे सहमति जुटाउने प्रयास भैरहेको छ । गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुनेछ ।
निर्वाचन तालिका अनुसार आज दर्ता भएका प्रस्तावको सूची आजै प्रकाशन गरिनेछ । दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको भोलि बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । गएको १५ गते राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको थियो । माओवादी केन्द्रकी सांसद अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
पछिल्लो पटक सत्ता समीकरण बदलिएसँगै माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले पनि दाबी गर्दै आएको छ ।