विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सोमबार विराटनगरमा बसेको माओवादी संसदीय दल बैठकले नेपाली कांग्रेसका सांसद केदार कार्की नेतृत्वमा रहेको कोशी सरकारबाट बाहिरिने निर्णय गरेको हो।
संसदीय दलका नेता इन्द्र आङ्बोका अनुसार माओवादीले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ। ‘हामी आजै कोशी सरकारबाट बाहिरिन्छौं, हाम्रा तीन जना मन्त्रीले राजीनामा दिनुहुन्छ,’ उनले सेतोपाटीसँग भने।
माओवादीबाट मन्त्री भएका राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश उप्रेतीले सोमबार नै पदबाट राजीनामा दिने उनको भनाइ छ। कोशी सरकारलाई दिएको समर्थन पनि हामी फिर्ता लिन्छौं,’ उनले भने।
माओवादी केन्द्र र एमालेका सांसदहरूले आजै संयुक्त रूपमा प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष समावेदन गर्ने भएका छन्। त्यसक्रममा उनीहरूले एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने भएका छन्।