
विराटनगर । सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिकाका दुईवटा वडामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हरिनगर–१ र देवानगञ्ज–७ मा आज मध्याह्न १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।
एसईई परीक्षा चलिरहेका बेला हरिनगर गाँउपालिका–१ मा रहेको बालकृष्ण माविमा कुटपिटपछि दुई समुदायबीच तनाव भएको थियो । दुवै समूहले झडप गर्न थालेपछि हरिनगर गाँउपालिकामा बिहानैबाट तनाव भएको थियो । स्थानीय जीवन मेहतामाथि कुटपिट भएपछि स्थिति तनावग्रत बनेको थियो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले स्थिति नियन्त्रणमा लिन हवाइ फायर समेत गरिएको जनाएको छ । सुनसरीका का.मु प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले अहिले स्थिति नियन्त्रणमा आएको जानकारी दिए ।