भद्रपुर । भद्रपुर २ स्थित धार्मिक तथा ऐतिहासिक समावेशी धाम कमलधापमा भगवान गौतम बुद्धको प्रतिमासहित उद्यान उद्घाटन गरिएको छ ।
पदम छ्योलिङ गुम्बा परिसरमा लालबहादुर तामाङ पाख्रिन परिवारले निर्माण गरिदिएको उद्यानको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् ।
दाता परिवारका सदस्य जगतबहादुर तामाङ पाख्रिनले स्वर्गबासी पितामाता राजमान र दरिमायाको स्मृतिमा बनाएको बौद्ध उद्यानले भद्रपुरको धार्मिक पर्यटन तथा नैतिकवान समाज निर्माणमा टेवा दिने विश्वास व्यक्त गरेका छन् ।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डिबी लामाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लामा गुरू ज्ञानका लागि आयोजित ३ महिने गुफा लामा ज्ञान प्राप्ति तपस्याको समेत समापन गरिएको थियो ।
भारत दार्जेलिङका लामा गुरू लोवेन पासाङ दोर्जेको प्रत्यक्ष रेखदेखमा ३ जना लामा गुरूसहित १७ जनाले लामा ज्ञानका लागि गुफालामा ज्ञान प्राप्ति तप माघ ८ गतेदेखि चैत्र २२ गतेसम्म ध्यान, ज्ञान र तपस्या गरेका थिए ।
कार्यक्रममा लामा गुरू दोर्जेसहित गुम्बाका पूर्व अध्यक्ष विशाल थिङ लगायतलाई सम्मान गरिएको थियो भने लामा ज्ञान प्राप्त प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
मानबहादुर तामाङले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर २ नम्वर वडाध्यक्ष रामबहादुर कँडेल लगायतले मन्तव्य राखेका थिए ।