२०८१ फागुन ११, आइतवार , ११:३०:४३ बजे

Sajhamanch
'

अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ९ खेलमा १५ सय खेलाडी भिड्ने

बिहिवार, चैत २२, २०८०

काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए।

प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुनेछ ।

प्रतियोगितामा १३६ स्वर्ण, १३६ रजत र १८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५४७ खेलाडी सहभागी हुने बताइएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन बैशाख १ गते गौरीटार रंगशालामा हुनेछ।

सम्बन्धित खबर