
काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकमा सिफारिस तोयम रायविरुद्ध उजुरी तथा सूचना माग गरेको छ । रायाको नियुक्ती उपयुक्त छैन भन्ने लागेमा सबुत प्रमाणसहित आजदेखि १० दिनभित्र समितिको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी तथा सूचना दिन सकिनेछ ।
सूचना दिनेले आफ्नो नाम, थर, ठेगाना, सम्पर्कमाध्यम खुलाउनुपर्नेछ । तर सूचना दिनेले चाहेमा नाम गोप्य राखिने संसदीय सुनुवाई समितिले निकालेको सूचनामा उल्लेख छ । हिजो बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।
संवैधानिक परिषद्को अस्ति बसेको बैठकले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायलाई महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरेको थियो । रायामाथि उजुरी परेमा उजुरीकर्तासँग छलफल पनि हुनेछ । त्यसपछि संसदीय समितिले नाम अनुमोदन गर्ने, सिफारिसपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महालेखापरीक्षकको पदावधि ६ वर्षको हुन्छ ।