
भद्रपुर । दक्षिणी झापामा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधको सातौं उत्खनन सम्पन्न भएको छ ।
भद्रपुर ३ पृथ्वीनगरस्थित देउनियाँ तथा मेची नदीको किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किच्चकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले सातौं पटक उत्खननको काम गरेको हो ।
वि. सं २०५८ सालमा पहिलोपटक पुरातत्वविद उद्धव आचार्यको नेतृत्व टोलीले उत्खनन गरेको थियो भने निरन्तर ७औं पटकसम्म पुरातत्व विभागको नेतृत्व उनै आचार्यले गरेका छन् । केही वर्ष अगाडि पुरातत्व विभागबाट सेवा निवृत्त भएका आचार्यले यसपटक नयाँ अधिकृत नवराज अधिकारीसहितको टोली लिएर १७ दिनसम्म उत्खनन गर्दा एउटा पूर्ण दरवारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको विज्ञ आचार्यको भनाई छ ।
सातौं पटकसम्मको उत्खननमा आइपुग्दा उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिमदक्षिण अर्को बहुतले भवन र यी ४ वटा भवनको दक्षिणतिर २०० फुटको दुरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको अर्को दुई तले भवन गरी ५ वटा भवनका संरचना फेला परेको विज्ञ आचार्यको भनाई छ ।
आचार्यका अनुसार यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीहरूको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताव्दीतिरको मानव सभ्यतासित गाँसिएका सामग्री प्रमाणित भएको थियो । यस आधारमा किच्चकबधको ऐतिहासिकता २२०० वर्ष पुरानो भएको पाइएको आचार्यले जानकारी दिए ।
पुरातत्वविद आचार्यका अनुसार भारतमा सुँग कुषाण काल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुन सक्छ । पाँचौं शताव्दीसम्म कायम रहेको अर्थात भारतको गुप्तकालसम्म कायम रहेको र अनुमान छ । त्यस समयमा यस क्षेत्रमा आएको प्राकृतिक विपत्तिका कारण यो स्थल ध्वस्त भएको हुनसक्ने फ्रेन्च भूगर्भविदको अध्ययनले देखाएको पुरातत्वविद आचार्यले सुनाए ।
यसपटक उत्खनन उत्तर पूर्वी कुनामा मन्दिर रहेको क्षेत्रमा भएको छ । उत्खनन भएको क्षेत्र पश्चिममा रहेको संरचना भत्काउनु पर्नेमा अहिलेसम्म भत्काइएको छैन । जसका कारण उत्खननको काम प्रभावित भइरहेको छ । दुई वटा मन्दिर हटाइएको क्षेत्रमा मात्र यसपटक उत्खनन गरिएको छ ।
उत्खनन भएको स्थानमा कतिपय वस्तु मन्दिर निर्माणका कारण नष्ट भएको देखिन्छ भने नयाँ वस्तु फेला पर्न सकेको छैन । एउटा दरवारको भग्नावशेष मात्र भेटिएको छ । यसअघि भेटिएका भवनकै आकारको भग्नावशेष नै यस पटकको उपलब्धी बनिएको उत्खननमा सहभागी टोलीको भनाई छ ।
आचार्यले उत्खनन गरिएका संरक्षित स्थानमा मान्छेले टेकेर हिँडन नहुने बताए । यस स्थानमा मानिसको आवतजावतले संरक्षित अवशेष भत्किने गरेको पाइएको छ । संरक्षण समितिले सुरक्षित राख्न सक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहने आचार्यको कथन छ ।
उत्खननका लागि सेवा निवृत्त विज्ञ आचार्यसित पुरातत्व विभागका अधिकृत नवराज अधिकारीले पहिलो पटक सहभागिता जनाएका छन् । चैत २ गतेबाट सुरु भएको उत्खनन आज १८ गते समापन भएको छ । उत्खनन भएको क्षेत्र २५ गतेभित्र सुरक्षित गरेर टोली फर्कने कार्यतालिका रहेको आचार्यले जानकारी दिए ।
यसपटक पुरातत्वविद आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इन्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशवाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलले उत्खननमा काम गरेका हुन् ।