
चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो ।
प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका घडियाल गोहीलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहित विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिकै रहेको राप्ती नदीमा छाडिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले घडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदूषणमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
गोही संरक्षणका लागि २०३० सालमा स्थापना भएको प्रजनन केन्द्रले अण्डा सङ्कलन गरी वार्षिक दुई सय बच्चा उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जकाअनुसार प्रजनन केन्द्रमा हुर्किएका एक हजार नौ सय १७ वटा गोही नदीमा छाडिएका छन् ।