
काठमाडौं । आउँदो वैशाख १ गते नयाँ वर्षको पहिलो दिनदेखि काठमाण्डौको ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा खुलाउने गरी तयारी शुरु भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ठमेल र दरबारमार्गलाई चौबीसैसै घण्टा खुला गर्ने तयारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने अनि रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ ।
काठमाण्डौको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई चौबीसै घण्टा खुला गर्नेबारे स्थानीयबासिन्दाले भने विरोध जनाएका छन् । ठमेलका घरधनीको हिजो बसेको बैठकले ठमेललाई चौबीसै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
काठमाण्डौ महानगरपालिका–२६ का पूर्ववडाध्यक्ष विशम्भरलाल प्रधानले ठमेललाई चौबीसै घण्टा खुला गर्ने निर्णय गर्नुपूर्व यस क्षेत्रको समस्याकाबारेमा अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले कति क्षेत्रलाई ठमेल मान्ने भन्नेबारे पहिले यकिन गर्नुपर्ने उल्लेख गर्नुभयो । स्थानीयबासिन्दा सोजेशमान मालाकारले जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा खुला गर्ने निर्णय गरी आचारसंहिता बनाउँदा यस क्षेत्रका घरधनीलाई नसमेटेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।