
काठमाडौंको ठमेलबाट दुई जना विदेशी नागरिक कोकिनसहित पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेल जेपी मार्गस्थित एक होटलमा शंकास्पद रूपमा बसिरहेका दुई जना ब्राजिलियन नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा लारिसन ब्रिटो डोस सान्तोस र फेरनान्दा भेल डिस छन्।
विभिन्न देशबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्नेहरूमाथि ब्युरोले निगरानी गर्ने गरेको छ। लामो समयको निगरानीपछि ब्युरोले दुई जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको एसपी कार्कीले बताए।
ब्युरोको टोलीले उनीहरूमाथि निगरानी गरी गत मंगलबार उनीहरू बसिरहेको होटलमा पुगेको थियो। त्यहाँ बसिरहेका लारिसनको सुटकेशभित्र ७७ वटा प्लाष्टिकले र्यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएका थिए। जसमा ८४० ग्राम कोकिन थियो।
त्यस्तै फेरनान्दाको सुटकेशभित्र ६२ वटा प्लाष्टिकले र्यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएका थिए। त्यसभित्र ५५० ग्राम कोकिन थियो।
उनीहरूको कोठाबाट प्रहरीले कुल एक किलो ३९० ग्राम कोकिन बरामद गरेको एसपी कार्कीले बताए। अनुसन्धान गर्नेक्रममा दुबै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर वेटमा लुकाएर नेपाल भित्र्याएको खुल्यो। त्यसपछि उनीहरूले थप कोकिन लुकाएको हुनसक्ने भएपछि दुबै जनालाई प्रहरी अस्पताल लगिएको थियो।
अस्पतलमा लगेर लारिसनको पेटबाट ६ वटा प्लाष्टिकले र्यापिङ गरिएका कोकिनका क्याप्सुल बरामद भएको थियो। जसभित्र थप ६५ ग्राम कोकिन बरामद भएको हो।
उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। एसपी कार्कीका अनुसार बरामद गरिएका कोकिन अवैध बजार मूल्य अनुसार ४ करोड ३६ लाख ५० हजार हुन्छ।