२०८१ माघ ६, आइतवार , ०२:१२:२३ बजे

Sajhamanch
'

उपचुनाव : दलहरुका आ–आफ्नै उम्मेदवार, माओवादी र कांग्रेसबाट टुंगो लाग्न बाँकी

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ (क) मा मुख्य दलहरुका आ–आफ्नै उम्मेदवार हुने भएका छन् । सत्तारुढ पाँच दलले समेत छट्टाछुट्टै उम्मेदवारी दिँदैछन् । एमाले, रास्वपा र एकीकृत समाजवादीले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् भने माओवादी र जसपाबाट टुंगो लाग्न बाँकी छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसबाट पनि उम्मेदवार चयन हुन बाँकी छ ।

एमालेले इलाममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिफारिस भएका अरु उम्मेदवारले समर्थन गरेपछि रास्वपाले हिजो लिम्बूको नाम टुंगो लगाएको हो ।

एकीकृत समाजवादीले इलाम–२ मा जितबहादुर राई र बझाङ–१ (क) मा वीरबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । इलाममा पहिचानवादी पक्षधरबाट डकेन्द्रसिंह लिम्बू र प्रेमदीप थाम्सुहाङले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

माओवादीले इलाम–२ मा धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ । यीमध्येबाट एकजनाको नाम टुंगो लगाउने तयारी भैरहेको माओवादीले जनाएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसले इलाम–२ मा डम्बर खड्का, भेषराज आचार्य र केशव थापामध्ये एकजनालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

सम्बन्धित खबर