बिर्तामोड । नेपाल प्रहरीको नियमित सरुवा अन्तरगत सरुवा भई नुवाकोट जिल्ला प्रहरी कार्यालय जान लागेका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई बिर्तामोडका ४४ वटा सङ्घसंस्थाले संयुक्त रुपमा बिदाई तथा सम्मान गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा मंगलबार वाणिज्य संघको सभाहलमा आयोजित बिदाई समारोहमा डीएसपी कार्कीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
बिर्तामोडस्थित इलाका प्रहरी कार्यलयमा १४ महिना सम्म कार्यरत रहँदा डीएसपी कार्कीले अपराध अनुसन्धानमा प्राप्त गरेको सफलता, विभिन्न आन्दोलनलाई शान्तिपूर्ण बनाउन र स्थानीय संघसंस्थाहरू सँगको समन्वयात्मक भूमिका रचनात्मक रहेको भन्दै संस्थाहरूले कार्कीलाई सम्मान गरेका हुन । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी को अध्यक्षतामा बिदाई समारोह आयोजना गरिएको थियो ।