२०८१ माघ ५, शनिवार , १०:००:०२ बजे

Sajhamanch
'

लगानी सम्मेलनमा चीनको महत्वपूर्ण सहभागिताका लागि आग्रह

बुधवार, चैत १४, २०८०

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा अर्को महिना हुने लगानी सम्मेलनमा चीनको महत्वपूर्ण सहभागिताका लागि आग्रह गर्नुभएको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा ९ दिने भ्रमणका क्रममा बेइजिङ पुग्नुभएका परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल पछिल्लो समय लगानीको केन्द्र बन्दै गएको र चीनका लगानीकर्ताका लागि पनि महत्वपूर्ण अवसर रहेको बताउनुभयो ।

नेपाली दूतावासमा भएको समारोहलाई सम्बोधन गर्दै उहाँले छिमेकी देश चीनका लगानीकर्तालाई विशेष सुविधा दिने व्यवस्था सरकारले गरेको जानकारी गराउनुभयो । तेस्रो लगानी सम्मेलन आउँदो वैशाख १६ र १७ गते काठमाडौंमा हुँदैछ ।

यसैबीच परराष्ट्रमन्त्री श्रेष्ठ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच हिजो द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भयो ।

साथै नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई छिट्टै सञ्चालनमा ल्याउने समझदारी पनि भएको छ । उहाँहरुबीच नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ ।

नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको छ । दुई पक्षबीच नेपालमा कृषि प्रविधि उद्यान निर्माणको प्रक्रिया छिटो अघि बढाउने तथा विकासका योजनाका बारेमा ठोस प्रस्ताव लिएर अघि बढ्ने समझदारी भएको छ ।

भेटमा परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्ता समेत दिनुभएको छ । दोस्रो पटक परराष्ट्रमन्त्रीमा नियुक्त भएलगत्तै मन्त्री श्रेष्ठको यो पहिलो चीन भ्रमण हो ।