२०८१ माघ १९, शनिवार , १२:३९:१५ बजे

Sajhamanch
'

ईलामको सेवा गर्ने संकल्पसहित निर्वाचनमा उभिएको छु : सुहाङ नेम्वाङ

सोमवार, चैत १२, २०८०

काठमाडौँ । नेकपा एमालेको तर्फबाट इलाम २ का उम्मेदवार सुहाङ नेम्वाङले इलामको सेवा गर्ने संकल्पसहित आफू उभिएको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सुहाङले आफूलाई उम्मेदवार बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै इलामको सेवा गर्ने संकल्प सहित आफू उभिएको बताएका हुन्।

उनले लेखेका छन्, केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन। मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु। त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु। इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ।

नेम्वाङले आफ्ना बुवा सुवास नेम्वाङप्रति इलामेली जनताको आशा, भरोसा र विश्वासका कारण आफूले पनि राजनीतिलाई पछ्याएको बताएका छन्।

उनले लेखेका छन्, बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो। आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन। र भनियो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है।’ त्यसैले म उम्मेदवारको लागि तयार भएँ।

अझै केही वर्ष ‘लो प्रोफाइल’मा बसेर बुवाकै साथमा रहेर सिक्ने, बुझ्ने रहर भए पनि अकल्पनीय आकस्मिकता आइलागेको पनि उनले बताएका छन्।

मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु। बुझ्नेछु। जान्नेछु। ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नुभएको सपना र गर्नुभएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु’ उनले लेखेका छन्, म उहाँको लागि दरिलो सहयोगी बन्नेछु। तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो। अकल्पनीय ब्रजपात आइलाग्यो।

उनले आफू उम्मेदवार बन्दै गर्दा पार्टीको विकास, विस्तार र आन्दोलनमा लागेका नेताहरूको भावनालाई शिरमा राख्ने प्रतिबद्धता समेत जनाएका छन्।

सुहाङलाई आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले इलाम २ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर