
झापा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादको अन्त्य नै अहिलेको सङ्कटको समाधान भएको बताएका छन् ।
शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापाको बिर्तामोडमा आयोजना गरेको वर्तमान आर्थिक राजनीतिक सङ्कट र आमसञ्चारमा यसको दुष्प्रभाव विषयक अन्तरक्रियामा बोल्दै अनिलले सो कुरा बताएका हुन् । नेता अनिलले उदारवादको अन्त्य र समाजवादको स्थापना नै वर्तमान सङ्कटको समाधान भएको बताए ।
नेपालको पञ्चायत सङ्कटमा परेपछि अमेरिकनलाई गुहारेर तत्कालिन अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले नीतिगत रूपमा देशलाई उदारवादतिर डोर्याएका र यसको कार्यान्वयन बहुदल पछि नेपाली कांग्रेसका अर्थमन्त्री रामशरण महतले गरेका कारण अहिलेको सङ्कट आएको बताए ।
अमेरिकाले सुरू गरेको उदारवाद अहिले नमानेको भन्दै उनले नेपालले मानिरहन आवस्यक नभएको बताए । ‘नेपालको विकास नहुनु र आर्थिक राजनीतिक रूपमा सङ्कट पैदा हुनु भनेको उदारवादको परिणाम हो’ उनले भने, ु‘अहिले भारत, अमेरिकाले उदारवाद मानिरहेको छैन । उनीहरूलाई सङ्कट पर्दा उदारवाद मान्नेहरूले सुरू गरेको उदारवाद हामीले किन मान्ने ? यसको अन्त्य किन नगर्ने ।’
कार्यक्रममा अनिल सीले ‘वर्तमान आर्थिक राजनीतिक सङ्कट र आमसञ्चारमा यसको दुष्प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर बिश्वकर्माले गरेका थिए भने सचिवालय सदस्य प्रविन अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सचिवालय सदस्य शोभराज बरालले शाब्दिक स्वागत गरेका थिए ।