
झापा । नेकपा (एमाले) झापाको निर्देशन अनुसार आज जिल्लाका १३१ वटै वडाका मुख्य चोकबजारहरु सरसफाइ गरी पार्टीको झण्डा गाडिएको छ ।
एमाले झापा जिल्ला कमिटीको चैत १५ र १६ गते बिर्तामोडमा हुने ११औं जिल्ला अधिवेशनलाई लक्षित गर्दै प्रचारप्रसारका लागि सो कार्य गरिएको हो । पार्टी जिल्ला कमिटीको नवौं पूर्ण बैठकले दिएको निर्देशन एवम् चैत १ गते सम्पन्न पालिका कमिटीहरुको आह्वानमा उक्त कार्य गरिएको हो ।
जिल्लाका १३१ वटै वडाका मुख्य मुख्य चौकहरुमा आज पार्टीको झण्डा र चुनाव चिह्न अंकित झण्डा एवम् जिल्ला अधिवेशनको प्रचार ब्यानर राखिएको जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।
आज बिहान परेको पानीको बेवास्ता गर्दै बिर्तामोडको मुक्तिचोक आसपास वडा नं. ४ र ५ को अगुवाइमा एमालेका दर्जनौं नेता कार्यकर्ता भेला भएर सरसफाई गरिएको ४ नं. वडा कमिटीका अध्यक्ष अर्जुन खरेलले बताए । बिर्तामोडमा नै पार्टीको जिल्ला अधिवेशन आयोजना गरिएकाले अबको केही दिन यहाँ पार्टीको झण्डा र ब्यानरले झकिझकाउ बनाउने तयारी गरिएको वडा कमिटी अध्यक्ष खरेलको भनाई छ ।
पार्टीको निर्देशन पालना गर्दै कमल गाउँ पालिकाका सबै वडामा झण्डा गाड्ने काम सम्पन्न गरेको जिल्ला कमिटी सदस्य चक्रबहादुर गुरुङलाई उधृत गर्दै साझामञ्चकर्मी उमानाथ भण्डारीले जनाएका छन् ।