२०८१ फागुन १२, सोमवार , ०७:०८:२७ बजे

Sajhamanch
'

झापा गोल्डकपका सजावटका सामग्री नगरपालिकालाई हस्तान्तरण

शुक्रवार, चैत ९, २०८०

बिर्तामोड । डोमालाल राजवंशी रंगशालामा गत फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको झापा गोल्डकपले सजावटका लागि प्रयोग गरिएका विभिन्न सामग्री बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

झापा गोल्डकप सफल बनाउन बिर्तामोड नगरपालिका क्षेत्रमा प्रयोग गरिएका विद्युतीय उपकरण, फोहोर फाल्न प्रयोग गरिने डस्विन र सजावटका लागि प्रयोगमा ल्याइएका फूलसहितका गमला आज बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालाई गोल्डकपले प्रयोगमा ल्याएका सामग्री हस्तान्तरण गरेका हुन् ।

शुक्रबार नगरपालिका पुगेर झापा गोल्डकपका अध्यक्ष बस्नेत, महासचिव गजेन्द्र प्रौडेललगायतले मुक्तिचोकदेखि रंगशालासम्म पुग्ने सडकमा जडान गरिएका २२५ पोलमा रहेका विद्युतीय लाइटसहित ८० वटा डस्टविन, फूलसहितको ५५ वटा गमला नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष बस्नेतले उपप्रमुख संग्रौलालाई भौतिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्न आग्रह पनि गरेका छन् । झापाली फुटबल प्रेमी दर्शकको अपार माया र सद्भावसहित सम्पन्न झापा गोल्डकपले बिर्तामोड नगरपालिकालाई मात्र नभई समग्र झापा जिल्लालाई नै चिनाएको भन्दै उक्त समयमा प्रयोग भएका सजावटका सामग्रीसहित रंगशालाको संरक्षण र सम्वर्धन गर्ने दायित्व नगरपालिकाको भएको अध्यक्ष बस्नेतको भनाई छ ।

झापा गोल्डकपले प्रदान गरेका सामग्री ग्रहण गर्दै उपप्रमुख संग्रौलाले गोल्डकपले प्रदान गरेका सामग्रीको संरक्षण अब नगरपालिकाले गर्ने बताए । उनले नगरका विभिन्न क्षेत्रमा आवश्यकताका आधारमा उक्त सामग्रीहरुलाई प्रयोगमा ल्याइने प्रतिवद्धतासमेत जनाएका छन् ।