२०८१ पौष १४, आइतवार , १२:५८:५५ बजे

Sajhamanch
'

श्रीमतीको सुपारीमा श्रीमान‍्को हत्या!

शुक्रवार, चैत ९, २०८०

पोखरा । एक महिलाले सुपारी दिएर श्रीमान‍्को हत्या गराएकी छन् । कास्कीको सिक्लेसमा मृत फेला परेका रामलाल तामाङलाई उनकै श्रीमती कान्छीमाया भनेर चिनिने च्याङमा तामाङले तीनजना पुरुषलाई हत्याको सुपारी दिएकी थिइन् ।
चारैजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । तामाङको शव गत चैत ३ गते सिक्लेसमा भेटिएको थियो । क्षतविक्षत अवस्थामा शव भेटिएपछिको अनुसन्धानमा प्रहरीले हत्या आरोपमा च्याङमासहित धनबहादुर लामा, नवीन तामाङ भनिने फुर्वा लामा र अजित तामाङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ पर्नेमध्ये धनबहादुर सिन्धुपाल्चोकको साँगाचोकगडी १, च्याङमा सिन्धुपाल्चोककै जुगल गाउँपालिका ३ घर भई साँगचोकगढी ३ मा बस्दै आएकी थिइन् । नवीन र अजित भने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ का हुन् ।
रामलालको हत्याको पछाडि उनले श्रीमतीलाई दिएको दुःख र हैरानी कारण रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार रामलालले श्रीमतीलाई सँधै गाली गर्थे । श्रीमानको व्यवहारबाट दिक्क भएकी च्याङमाले धनबहादुरलाई केही रकम दिएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनले धनबहादुरलाई ९० हजार रुपैयाँ दिएकी थिइन् । रामलालको हत्या योजना बनाएर नै धनबहादुर सिन्धुपाल्चोकबाट पोखरा ल्याएका थिए ।
धनबहादुरले रामलाललाइ मार्ने योजना बनाएर पोखरा आएका थिए । उनै धनबहादुरले रामलालसहित नवीन र अजितलाई कामको लागि भन्दै सिक्लेसतर्फ लिएर गएका थिए । प्रहरीका अनुसार कास्कीको मादीमा निर्माणाधीन दुईवटा हाइड्रोपावरमध्ये एउटामा काम गर्न भनेर गाउँबाट फकाएर सँगै ल्याएर सिक्लेसमा रामलालको हत्या गरेर ३ तीनजना फरार भएका थिए ।

धनबहादुरले हत्या गरेपछि नवीन तामाङ र अजित तामाङको सहयोगमा शव व्यवस्थापन गरेका थिए । सुपारी बापत पाएको ९० हजार रुपैयाँ मध्यको ५० हजार धनबहादुर लिएर अन्य २ जनलाइ २०र२० हजार भाग लगाएका थिए । उनीहरू सिक्लेसबाट फर्केको प्रहरीलाई धनबहादुरले बयान दिएका छन् ।
सिक्लेस गाउँबाट दक्षिण पाखोमा भेटिएको शव सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बाका रामलाल तामाङको १ गते हत्या भएको हो । ३ गते एक स्थानीय भैसी पालक किसान आफ्नो भैँसी हराएपछि खोज्न निस्केका थिए । सोही क्रममा गाउँभन्दा टाढा उनले रगत देखेपछि आफ्नो भैंसीलाई बाघले लगेको आशंकामा रगत भएको ठाउँ पछ्याउँदै जाँदा पुरुषको शव फेला परेको थियो ।
प्रहरीले कुकुरसहितको अनुसन्धान अघि बढाएको थियो । तर, कुकुर समेत आधा बाटोमा पुगेर रोकिएपछि प्रहरीले फरार तीनजनाको खोजी गरेको थियो । प्रहरीले रामलालका बुवालाई शव जिम्मा लगाइसकेको छ ।
पक्राउ परेका चारैजनालाई कर्तव्यज्यान सम्बन्धि मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी विकले जानकारी दिए ।

सम्बन्धित खबर