
काठमाडौं । लुम्बिनी प्रदेशमा लाइसेन्स लिनुअघि गरिने स्वास्थ्य परीक्षण जुनसुकै एनएमसी नम्बर प्राप्त डाक्टरबाट गर्न सकिने भएको छ।
उद्योग तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट लागू हुने गरी नयाँ नियम ल्याएको हो। लाइसेन्स लिनु अघि आँखा जाँच गर्नका लागि यस अघि वर्षौदेखि हुँदै आएको सिन्डिकेट तोडिएको उद्योग तथा यातायात मन्त्री सरोज थापाले जानकारी दिए।
‘पहिला सेवाग्राहीलाई यातायात कार्यालयमै अफिस खोलेर डाक्टर राखि आँखा जाँच गरिँदै आएको थियो,’ मन्त्री थापाले भने, ‘नियमावलीमा जुनसुकै एनएमसी नम्बर प्राप्त डाक्टरले गरे हुने रहेछ, त्यही भएर त्यो नियम तोड्यौं।’
लुम्बिनी प्रदेश सडक सवारी यातायत परिवहन ऐनमा दरखास्तवालाले चालक अनुमति पत्रका लागि तोकिएको दस्तुरसहित नागरिकताको प्रतिलिपि नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले निजको स्वास्थ्य परीक्षण गरी दिएको निरोगिताको प्रमाणपत्रको प्रतिलिपीसमेत संलग्न गर्नुपर्ने व्यवस्था छ।
यसअघि यातायात कार्यालयसँग मिलेर टेन्डर आह्वान गरी स्वास्थ्य चेकजाँचमा सिन्डिकेट हुँदै आएको थाहा पाएपछि नियमावलीलाई टेकेर नियम ल्याइएको मन्त्री थापाले बताए। यसअघि मन्त्री थापाले आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाएका थिए।