![](https://sajhamanch.com/wp-content/uploads/2024/03/Nepal-1711068078.jpg)
काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ ।
बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै अल हुमाइदानको गोलमा बहराइनले अग्रता बनाएको थियो । नवौँ मिनेटमा नै सायद बाकरले गोल थप्दै घरेलु टिमको अग्रता दोब्बर पारेका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा अली मादानले गोल गरेपछि बहराइनले अग्रतालाई ३–० को सहज अवस्थामा पूर्याएको थियो ।पहिलो हाफमा तीन गोल व्यहोरेको नेपालले दोस्रो हाफमा थप दुई गोल व्यहोर्यो । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा इब्राहिम अल खतलले गोल गरेपछि बहराइनले ४–० को अग्रता बनाएको थियो ।
यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई इस्माइल अब्दुल्लातिफले सदुपयोग गरेपछि बहाइनले ५–० को फराकिलो जित सुनिश्चित गरेको हो ।सुरुआतदेखि नै बहराइनको आक्रमण झेलेको नेपालले १६औँ मिनेटमा चोटका कारण फरवार्ड अञ्जन बिष्टलाई परिवर्तन गरेको थियो । अञ्जनको स्थानमा दीनेश हेन्जन मैदान प्रवेश गरेका थिए ।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको बहराइन समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो ।यता, बहराइनले यसअघि यूएईसँग २–० को हार व्यहोर्दा दोस्रो खेलमा यमनलाई २–० ले हराएको थियो ।यी दुई टिमबीचको दोस्रो लेग बहराइनमै मार्च २७ मा हुनेछ ।