
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । पार्टीमा गुटगत राजनीति मौलाएको र कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
‘पार्टी एक प्रकारले गुटहरूको महासंघजस्तो भयो । नेताहरूलाई आफू निकटलाई मात्रै जिम्मेवारी दिने र अरूलाई पाखा लगाउने प्रवृत्ति बढेपछि मैले त्यो पार्टीमा बसेर हुँदैन भन्ने निष्कर्ष निकालेको छु’, शर्माले भने, ‘यस विषयमा मैले पार्टी अध्यक्षलगायत जिम्मेवारी पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको थिएँ । तर भेटमा उहाँहरू तपाईंले उठाएको कुरा गम्भीर हो भन्छन्, छुटेपछि बिर्सिन्छन् । यहाँ बस्नु समय बर्बाद गर्नु मात्रै हो भन्ने लागेपछि मैले पार्टी छाड्ने निर्णय गरेको हुँ ।’
शर्माले अब के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको, तर राजनीतिमा नै रहने बताए । त्यसका लागि तराई मधेशका एजेन्डा बोक्ने राजनीतिक दलसँग सहकार्य गर्ने र आफ्नो भूमिका स्पष्ट भएपछि नयाँ वर्षअघि नै निर्णय लिने उनको भनाइ छ ।
आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘अन्तिम समयमा गत २८ फागुनमा मैले अध्यक्ष कमरेडसँग लामो समय बसेर समस्याबारे छलफल गरेँ । उहाँले निकै गम्भीर भएको जस्तो गर्नुभयो’, उनले भने, ‘तर त्यसपछि कार्यविभाजन गर्दा पुरानै समस्या दोहार्याउनु भयो ।’
उनले आफू पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएर नाम मात्रैको नेता बनाएको उनको भनाइ छ । साथै, मधेसमा जिम्मेवारी पाएर आउने हरेक नेताले गुटलाई मात्रै केन्द्रमा राख्ने गरेको र वास्तविक समस्यालाई सुन्ने नचाहेको बताए ।
पछिल्लो समय जनतासँग जाँदा पार्टीका पदाधिकारी तहकै नेताहरूमाथि प्रश्न उठ्ने गरेको, तर आफूले उनीहरूलाई दिने जवाफ पनि नभएकाले अब यो पार्टी नैतिक हिसाबले पूर्णरूपमा संकटग्रस्त भयो भन्ने निष्कर्षमा आफू पुगेको उनको भनाइ छ ।