![](https://sajhamanch.com/wp-content/uploads/2024/03/Event-copy.jpg)
काठमाडौं । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव चैत १६ गतेदेखि काठमाडौंमा आयोजना गरिने भएको छ । चैत्र १६ देखि १८ गते (मार्च २९–३१) सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनभन्दा बढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ ।
पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहने छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय निर्णायकहरुमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् ।
तीन दिने चलचित्र महोत्सवमा फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास पनि राखिएको छ । चलचित्र विकास बोर्डमा मार्च ३० अर्थात् चैत्र १७ गते सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिनेछिन् भने मार्च ३१ मा भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास दिने कार्यसूचि तय गरिएको छ ।
महोत्सवको आयोजक नेपाल संस्कृति तथा चलचित्र केन्द्रले महोत्सवको तालिकासमेत सार्वजनिक गरेको छ । महोत्सवमा नेपाली चलचित्र चिसो मान्छे, महापुरुष, छक्का पञ्जा ४ लगायत अन्य विभिन्न विधाका चलचित्रहरुका साथै विदेशी ३ दर्जन जति चलचित्रहरु समावेश हुनेछन् ।
कुनै पनि चलचित्र हेर्न दर्शकलाई पैसा नलाग्ने र कार्यक्रममा प्रवेश निःशुल्क रहेको जनाइएको छ । अन्य चलचित्र महोत्सवले प्रवेश शुल्क लिने गरेको तर यो महोत्सवमा कसैलाई पनि प्रवेश र चलचित्र हेर्न कुनै पैसा नलाग्ने भएको कारण सर्वसाधारण, विद्यार्थी, चलचित्रकर्मी लगायत सबैलाई समान रुपमा समेट्न सकिने आयोजकको भनाई छ ।
मानवाधिकार, सामाजिकन्याय र दिगो विकासका विषयलाई केन्द्रमा राखेर चलचित्र महोत्सवको आयोजना गर्न लागिएको नेपाल संस्कृति तथा चलचित्र केन्द्र (एनसीएफसी)ले जनाएको छ । चलचित्र महोत्सवको अन्तिम दिन सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत समेत गरिनेछ ।
महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्र मात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट वातावरणीय चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेकोले चलचित्र महोत्सव अझ बढी महत्वपूर्ण रहेको महोत्सव निर्देशक सन्तोष सुवेदी बताउँछन् ।
नेपालमा विधा अनुसारको विषयवस्तुमा कमैमात्रामा फिल्म बन्छ, कि त बन्दै बन्दैन । बने पनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाइहाले पनि प्रतिस्पर्धामा पछाडि नै राखिन्छ । तर आसन्न महोत्सवले सबैलाई समेट्न सकेको महोत्सव निर्देशक सुवेदीको दावी छ ।
अझ महोत्सवको पछिल्लो संस्करणमा अन्य विधाहरु पनि थप्दै जाने सुवेदी बताउँछन् । चलचित्र महोत्सव गर्नु आफैंमा पनि च्यालेन्जिङ कार्य हो र यसमा सरकारी तथा सम्बन्धित निकायहरु आफैं अग्रसर भएर कार्य गर्नुपर्नेमा मौन बस्नु र सहयोग नगर्नु दुःखद कुरा भएको उनको भनाई छ ।
मुटुको शल्यक्रिया भएको केही महिना पछि पनि सक्रिय भएर महोत्सवको आयोजना गरेर देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन पाउँदा आफैंलाई गौरव लाग्ने गरेको सुवेदीले बताए । उनले तीन दिने चलचित्र महोत्सवमा चलचित्रकर्मी, कलाकार, रंगकर्मी, विद्यार्थी, पत्रकार, राजनीतिज्ञ लगायत सबैलाई उपस्थित हुनको लागि अनुरोधसमेत गरेका छन् ।